सिर्जनशील युवा कला पुरस्कार ईशान परियारलाई


सिर्जनशील युवा कला पुरस्कार ईशान परियारला















पोखरा, २५ भदौ / सिर्जनशील कलाकार समूह, कास्कीले कलाकार ईशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार २०७३ बाट पुरस्कृत गरेको छ । एक दशक बढि समयदेखि कला क्षेत्रमा योगदान दिएको भन्दै पराजुलीलाई नगद १० हजार र ताम्रपत्र सहित शनिबार पुरस्कृत गरेको हो ।
महेन्द्रपुल स्थित पिएसएम आर्ट ग्यालरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज कलाकार दुर्गा बराल वात्स्यायन, क्षेत्रलाल कायस्थ लगायतले परियारलाई पुरस्कृत गरे । प्रमुख अतिथि बास्तोलाले पोखरामा कला, संस्कृतिको विकासका लागि संघ स्थापनाकाल देखि नै लागिरहेको भन्दै कलाक्षेत्रको प्रवद्र्दनका लागि सञ्चार क्षेत्रको पनि सहयोग रहिरहने बताए । ‘कलाकारलाई यस्तो सम्मानले हौसला मिल्छ । उर्जाशील भई अघि बढ्न मद्धत पु¥याउँछ’– उनले भने– ‘ओझेलमा परेका कलाकारलाई अघि बढाउने काम सञ्चार क्षेत्रको पनि हो ।’
वरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ ले उपयुक्त पात्रलाई पुरस्कृत गर्दा पुरस्कृत व्यक्तिमात्र नभई पुरस्कारकर्ता र पुरस्कार पनि स्वयं सम्मानित हुने बताए । उनले दशक अघि आर्ट ग्यालरीमा कर्मचारीका रुपमा भित्रिएका ठिटो आज यसै क्षेत्रबाट यसरी सम्मानित हुनु गर्वको विषय भएको बताए । पेन्टिङमा लगाव र उच्च अभिलाषाका कारण परियारले यो सम्मान पाएको भन्दै उनले पोखरामै ललितकलामा एमए उत्तीर्ण गर्ने परियार उदाहरणीय व्यक्ति बनेको पनि उल्लेख गरे ।पुरस्कृत व्यक्तित्व छनौट समितिका संयोजक बुद्धि गुरुङले उपयुक्त व्यक्तिलाई नै पुरस्कार प्रदान गर्न सिफारिस गरिएको बताए । उनले परियार राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत भईसकेको जनाउँदै विभिन्न देशमा एकल तथा सामूहिक चित्रकला प्रदर्शन सम्पन्न भएको जानकारी दिए ।
पुरस्कृत व्यक्तित्व परियारले कामसँगै कलाकारितालाई पनि संगै बढाएकाले नै आज पुरस्कार प्राप्त गर्न सकेकाले आफूलाई थप प्रेरित गरेको बताए । पोखरा १५ टुटुंगा निवासी परियारले नेपाल, भारत, बंगलादेश, जापान जस्ता देशमा आफ्नो कला प्रदर्शनी  गरिसकेका छन् ।
पुरस्कारका संस्थापक, कलाकार एवं फोटो पत्रकार विश्वरत्न शाक्यले आफ्ना स्व. आमाबाबुको स्मरणमा विगत  १० वर्षदेखि पुरस्कार प्रदान गरिँदै आएको जनाए । बुबा सिद्धिरत्न शाक्य र आमा सेतुलीमाया शाक्यको स्मृतिमा विश्वरत्न शाक्य र उनका परिवारले २०६४ सालमा स्थापना गरेको यो पुरस्कार कला क्षेत्रमा क्रियाशील पोखरेली कलाकारलाई वर्षेनी प्रदान गर्दै आईरहेको छ । यसअघि, यस पुरस्कारबाट कलाकारहरु सुनिल सिग्देल, डिराम पाल्पाली, पदम घले, सञ्जय गुरुङ, गणेश जिसी, ईन्द्र खत्री, विश्वराज पराजुली, एनबि गुरुङ र थमनसिंह सुनार सम्मानित भईसकेका छन् ।
(रञ्जन अधिकारी पोखरा, २५ भदौ)

Comments

Popular Post

पानीरंग चित्रको ईतिहास र नेपाली कलाको सन्दर्भ, संभावना र भविष्य

"National Fine Art Award " winning painting

कला-कुरा